काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा तयार भइसकेको भए पनि प्रकाशनका लागि बोर्डको बैठकको निर्णय आवश्यक भएको बताएका छन्।
उनका अनुसार, आजै परीक्षा बोर्डको बैठक बस्ने तयारी भइरहेको छ। “नतिजाको अन्तिम चरणमा छौँ,” डा. भट्टराईले भने, “तर प्रकाशित गर्ने निर्णय बोर्ड बैठकले गर्नुपर्छ। सम्भवतः आज बैठक बस्नेछ।”
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजा प्रकाशनसम्बन्धी छलफलका लागि आजै बैठक बस्ने जानकारी दिए। यद्यपि, बैठकको समय भने अझै निर्धारण नभएको उनले बताए।
एसईई २०८१ को परीक्षा गत चैत्र ७ गतेदेखि सञ्चालन भएको थियो। नियमिततर्फ ४ लाख ३१ हजार ४६६ विद्यार्थी सहभागी भएका थिए भने ग्रेडवृद्धि परीक्षातर्फ ६७ हजार ७१५ जना परीक्षार्थी थिए। यस अनुसार जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
अब बोर्डको बैठकबाट निर्णय भएपछि एसईईको नतिजा औपचारिक रूपमा सार्वजनिक गरिनेछ।