काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न पहाडी भेगहरूमा रातभर पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, बितेका ६ घण्टाको अवधिमा डोटी, डोल्पा, रुकुम, म्याग्दी, कास्की, मनाङ, लमजुङ, काठमाण्डौ, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, इलामलगायतका क्षेत्रमा हल्कादेखि मध्यम स्तरको वर्षा मापन गरिएको छ।
रातिको वर्षाका कारण काठमाण्डौ उपत्यकाको बागमती, विष्णुमती र धोबीखोलामा बाढी आएको थियो भने लमजुङको खुदीखोलामा पनि पानीको बहाव बढेको थियो। यद्यपि, अहिले ती खोलाहरूको बहावमा केही कमी आएको बताइएको छ। मौसमविद्हरूका अनुसार, आज दिउँसो र राति पनि देशका सबै प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस क्रममा नदी तथा खोला किनारमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले लगातार वर्षाका कारण पहिरो, बाढी र सवारी आवागमनमा अवरोध हुने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।