शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक दुई घण्टा पर सारियो

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक आजका लागि तोकिएको समयभन्दा दुई घण्टा पछि सारिएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक अब ३ बजे बस्नेछ। समितिका सभापति अम्मरबहादुर थापाले बैठक सारिएको जानकारी दिएका छन्।

बैठक विवादित विषयमा सहमति जुटाउने प्रयासस्वरुप सारिएको जनाइएको छ। सभापति थापाका अनुसार, समितिले असार १३ गतेसम्म विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाउने तयारी गरिरहेको छ। बाँकी रहेका केही विषयहरू आज र भोलि बैठक गरी टुंग्याउने योजना रहेको उनले जानकारी दिए।

बुधबार दिनभर विधेयकको विवादित विषयमाथि सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसे पनि पूर्ण सहमति जुट्न सकेको छैन। तर नेताहरूले विवादको दायरा साँघुरो बनाउँदै लगिएको बताएका छन्।

यसअघि, सरकारले वैशाख १७ गते शिक्षक महासंघसँग भएको सहमति अनुसार असार १५ गतेभित्र ऐन जारी गर्ने प्रतिबद्धता जनाएको थियो। चैत २० देखि २९ गतेसम्म शिक्षकहरूले शैक्षिक हड्ताल गरेपछि उक्त सहमति भएको थियो। तर हालसम्म समितिबाट विधेयक प्रतिनिधिसभामा पठाउन सकिएको छैन।

समितिमा सहमति जुटाउने प्रयास तीव्र भइरहेकाले आजको बैठकमा ठोस प्रगति हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्