इरान–इजरायल युद्धविरामपछि अवस्था सामान्य, आणविक वार्ता तयारीमा अमेरिका

ISRAEL-IRAN-CONFLICT

इरान र इजरायलबीच १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछिको युद्धविरामपछि दुवै देशमा अवस्था क्रमशः सामान्य बन्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका लगायतका तेस्रो पक्षको संलग्नतामा भएको यो युद्धविरामले तनावग्रस्त क्षेत्रलाई केही सहज बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रिय पहलमा भएको युद्धविराम दुबै देशको सहमतिमा अघि बढिरहेको अमेरिकी प्रशासनको भनाइ छ। अमेरिकी कूटनीतिक प्रयासलाई युद्धविराम सफल बनाउने निर्णायक कदमको रूपमा हेरिएको छ।

इजरायली सेनाले इरानको आणविक पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको दाबी गरेको छ। इजरायली सैन्य अधिकारीहरूका अनुसार इरानको आणविक कार्यक्रम केही वर्षका लागि पछाडि धकेलिएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो अवस्थालाई “ऐतिहासिक विजय” को रूपमा व्याख्या गरेका छन्।

त्यसैबीच, इरानका राष्ट्रपति मसुद पेजेस्कियानले भने शान्तिपूर्ण परमाणु ऊर्जा उत्पादन आफ्नो मुलुकको अधिकार भएको र त्यसमा कुनै सम्झौता नगर्ने अडान दोहोर्याएका छन्। उनले इरानले अन्तर्राष्ट्रिय नियमको पालना गर्ने तर स्वाधीनतामा हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। युद्धका कारण इरानमा रोकिएको इन्टरनेट सेवा क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ। जनजीवन पुनःस्थापनाको प्रक्रिया शुरू भइसकेको र आन्तरिक सुरक्षालाई प्राथमिकता दिइएको इरानी प्रशासनले जनाएको छ।

इरानी स्वास्थ्य मन्त्रालयका अनुसार सैन्य द्वन्द्वको क्रममा ६१० जना नागरिकले ज्यान गुमाएका छन्। उता, इजरायली पक्षले इरानी आक्रमणबाट २८ जनाको मृत्यु भएको पुष्टि गरेको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकाले निशाना बनाएको आणविक केन्द्रको क्षति र पुनर्निर्माणबारे छलफल गर्न अर्को हप्ता इरानी प्रतिनिधिमण्डलसँग वार्ता हुने जानकारी दिएका छन्। सीएनएनका अनुसार, यो वार्ता आगामी दिनमा इरान-अमेरिका सम्बन्धमा निर्णायक बन्न सक्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्