एमालेले भन्यो – सरकारको एक वर्ष सन्तोषजनक

काठमाडौं — नेकपा एमालेले वर्तमान सरकारको एक वर्षको कार्यकाललाई समग्र रूपमा सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले दुई ठूला दल मिलेर बनेको सरकारले स्थिरता, आर्थिक सुधार र विकासको लक्ष्यतर्फ सकारात्मक प्रगति गरेको निष्कर्ष दिएको हो। बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूसँग कुरा गर्दै सरकारले अपेक्षाअनुसार काम गरिरहेको बताए।

‘मुलुकमा स्थायित्व, अर्थतन्त्रलाई गति र विकास गर्ने उद्देश्यले दुई ठूला पार्टीसहितको सरकार गठन भएको हो। यो एक वर्षको समग्र अवस्था सन्तोषजनक छ,’ ज्ञवालीले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको आगामी ३१ असारमा एक वर्ष पूरा हुँदैछ। उक्त अवसरमा सरकारमाथि उठेका आलोचनाहरूको सन्दर्भमा ज्ञवालीले ती सबै हल्ला मात्र रहेको बताए। ‘सरकारबारे अनेकौं हल्ला चलाइए, तर दुई दलबीचको समझदारी अझ बलियो हुँदै गएको छ,’ उनले भने।

ज्ञवालीले अर्थतन्त्रमा सुधारका संकेत देखिएको उल्लेख गर्दै जनताको विश्वास थप मजबुत हुँदै गएको बताए। साथै, विरोधका स्वरहरू कमजोर हुँदै गएका र प्रतिगमनका प्रयासहरू जनताको सजकता, दलहरूको सक्रियता र सरकारको प्रभावकारी कदमले निष्प्रभावी बनाएको एमालेको ठहर रहेको उनले बताए। उनले वर्तमान सरकारले आफ्नै नेतृत्वमा बजेट ल्याउन पाएकोमा पनि आशा पलाएको बताए। ‘गत वर्ष हामीले अरूले बनाएको बजेटमा काम गर्नुपरेको थियो, हात बाँधिएकोजस्तै अवस्था थियो। तर अहिले हामीले देशलाई सही दिशातर्फ डोर्याएका छौं,’ ज्ञवालीले जोड दिए।

एमालेको सचिवालय बैठकले आगामी दिनमा सरकारले लिएको मार्गदर्शनलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने र जनअपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्ने निष्कर्षसमेत निकालेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्