कञ्चनपुर- वेदकोट नगरपालिकाको १७ औँ नगरसभा नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८२/८३ का लागि कुल ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६ रुपैयाँको बजेट पारित गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा सेवा प्रवाहमा केन्द्रीत विभिन्न जनमुखी कार्यक्रम सार्वजनिक गरिएका छन्।
सभामा उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा समिति पदाधिकारी तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
नगरपालिकाले यस वर्ष ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू गर्ने, कोल्ड स्टोर सञ्चालन गर्ने, दीर्घकालदेखि कार्यरत अस्थायी कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, नगर प्रहरीको व्यवस्था गर्ने, आयुर्वेदिक स्वास्थ्य केन्द्र तथा दैजीमा आँखा उपचार केन्द्र स्थापना गर्ने जस्ता कार्यक्रम घोषणा गरेको छ। साथै, दैनिक ज्यालादारीमा कार्यरत श्रमिकहरूलाई मासिक ज्यालामा रूपान्तरण गर्न आवश्यक प्रबन्ध मिलाइने भएको छ।
नगर प्रमुख बोहराले स्थानीय विकासमा नागरिक सहभागिता र जवाफदेहितालाई मुख्य आधार बनाउँदै योजना कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभएको छ।