विराटनगर – इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि कोशी प्रदेशमा फेरि कोरोना त्रास बढेको छ । मंगलबार बिहान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ४१ वर्षीया महिलाको मृत्यु भएको हो । उक्त महिला झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर सोमबार मात्रै नोबेल शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनलाई नोबेल ल्याइएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए । उनी एक सातादेखि बिरामी रहेको पनि अस्पताल स्रोतले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण यो २५ महिनापछि भएको मृत्यु हो । यसअघि २०८० साल वैशाख २१ गते गण्डकी प्रदेशका ४७ वर्षीय पुरुषको मृत्यु भएको थियो । त्यसयता संक्रमण देखिए पनि मृत्युको घटना रेकर्ड भएको थिएन ।
नोबेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण भएको आशंका गरिएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय मोरङ, झापा र इलाम गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये झापाका ४ जना, मोरङका २ जना र इलामका १ जनाको उपचार जारी छ । कोरोना संक्रमणबाट भएको पछिल्लो मृत्युले सर्वसाधारणमा फेरि सतर्कता अपनाउने खाँचो बढाएको छ । स्वास्थ्य विज्ञहरूले स्वास्थ्य मापदण्ड पालना गर्न, भीडभाडमा जान नहुने र लक्षण देखिएमा तुरुन्तै परीक्षण गराउनु पर्ने सल्लाह दिएका छन् ।