महेन्द्रनगर- शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९२ करोड ७८ लाख ५३ हजार ६ सय ३१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न २०औं नगरसभामा नगर उपप्रमुख कल्पना पन्तले आय–व्यय विवरण प्रस्तुत गरेकी हुन्।
उनका अनुसार चालु खर्चतर्फ ६७ करोड ७१ लाख १४ हजार ५ सय ६६ रुपैयाँ र पूँजीगत खर्चतर्फ २५ करोड ७ लाख ३६ हजार ३४ रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा आन्तरिक आय २ करोड ४२ लाख ८४ हजार, मालपोतबाट ७३ लाख, संघीय सरकारको राजश्व बाँडफाँडबाट १३ करोड ६ लाख ५६ हजार ६ सय ६१, र प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ५१ लाख ६४ हजार रुपैयाँ प्राप्त हुने उल्लेख छ।
त्यस्तै, संघीय सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत ४३ करोड ३२ लाख र प्रदेश सरकारबाट ४ करोड ३६ लाख २६ हजार रुपैयाँ प्राप्त हुनेछ। अनुमानित अतिरिक्त आन्तरिक आय २ करोड ७५ लाख, क्षेत्रीय सहरी विकास कार्यक्रम २० लाख ६० हजार, सडक बोर्डबाट ४० लाख र सामाजिक सुरक्षाका लागि २५ करोड विनियोजन गरिएको छ।
नगरपालिकाले सामाजिक विकासमा २६ करोड ४६ लाख १५ हजार ३ सय २५, पूर्वाधार विकासमा २४ करोड ८६ लाख ३६ हजार ३५, कार्यालय सञ्चालनमा ११ करोड ५४ लाख ५० हजार, आर्थिक विकासमा १ करोड १२ लाख ४६ हजार २ सय ७१ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
नगरपालिकाले सामाजिक तथा पूर्वाधार विकासलाई प्राथमिकता दिएको जनाइएको छ। समावेशी, दिगो र प्रभावकारी विकासमार्फत नगरवासीको जीवनस्तर उकास्ने लक्ष्य लिएको नगर कार्यपालिकाले जनाएको छ।