काठमाडौं – इरानले इजरायलतर्फ एकपछि अर्को गर्दै क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायलको दक्षिणी सहर बेअरशेबामा कम्तीमा तीन जनाको मृत्यु भएको छ। इजरायली सञ्चारमाध्यमका अनुसार मारिनेमा दुई जना ४० वर्षको हाराहारीका पुरुष र महिला तथा एक जना २० वर्षका युवक रहेका छन्।
यो आक्रमण अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायलबीच १२ दिन लामो युद्ध अन्त्य गर्दै युद्धविराममा सहमति भएको घोषणा गरेलगत्तै भएको हो। ट्रम्पले ट्रुथ सोसलमार्फत युद्धविराम ६ घण्टाभित्र कार्यान्वयन हुने दाबी गरे पनि इजरायलले अझैसम्म औपचारिक रूपमा सहमति जनाएको छैन।
इरानले भने आफ्ना तर्फबाट युद्धविराममा सहमति जनाइसकेको बताउँदै सरकारी टेलिभिजनमार्फत जानकारी दिएको छ। यसबीच इजरायलको उत्तरी क्षेत्रमा समेत पुनः साइरन बज्न थालेको जनाइएको छ, जसले थप आक्रमणको संकेत दिएको हो।
क्षेप्यास्त्र आक्रमणपछि प्रभावित क्षेत्रमा तनाव बढेको छ भने इजरायली सुरक्षाकर्मीहरू सतर्क अवस्थामा रहेका छन्। युद्धविरामको अवस्था अझै स्पष्ट भइनसकेकोले क्षेत्रीय अवस्था झन् जटिल बन्दै गएको विश्लेषणकर्ता बताउँछन्।