स्याङ्जाको फेदीखोलामा हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

स्याङ्जा — परम्परागत कृषि प्रणालीको संरक्षण र किसानलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको छ। गाउँपालिकाले कुल २९० हल गोरुका लागि २२४ जना किसानलाई १४ लाख ४५ हजार रुपैयाँ बराबरको अनुदान उपलब्ध गराएको हो।

गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीका अनुसार पछिल्लो समय गाउँमा गोरु पाल्ने परम्परा हराउँदै गएकाले यसको पुनरुत्थान गर्न हलगोरु पाल्ने कृषकलाई प्रतिहल १० हजार रुपैयाँको दरले अनुदान दिइएको हो।

“यो कार्यक्रमले परम्परागत कृषि प्रणालीको आर्थिक, सामाजिक, पर्यावरणीय र सांस्कृतिक महत्त्व जोगाउन मद्दत गर्नेछ,” अध्यक्ष सुवेदीले बताए। उनका अनुसार किसानको मनोबल वृद्धि गर्दै दिगो, आत्मनिर्भर र सांस्कृतिकरूपमा समृद्ध कृषि अभ्यासतर्फ टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रम अन्तर्गत फेदीखोला गाउँपालिकाका पाँचवटै वडाबाट निवेदन संकलन गरिएको थियो। जनप्रतिनिधि र कर्मचारीहरूले घरमै पुगेर अनुगमन गरी प्रमाणित गरेका आधारमा किसानको बैंक खातामा रकम जम्मा गरिने व्यवस्था गरिएको पशुपक्षी विकास उपशाखाका प्रमुख भगवानदेव यादवले जानकारी दिए।

अनुदान कार्यक्रममा गाउँपालिकाले ७५ प्रतिशत अनुदान दिँदा किसानले २५ प्रतिशत लागत सहभागिता जनाएका छन्। “एउटै किसानले पालेको वा दुईजनाले मिलेर पालेको एक हल गोरुमा पनि समानरूपमा अनुदान दिइएको छ,” यादवले भने।

कार्यक्रममार्फत जैविक मल उत्पादनमा टेवा, वातावरणमैत्री खेतीको प्रवर्द्धन, तथा सामूहिक श्रमको पुनर्जागरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

फेदीखोला गाउँपालिकाको यो पहल परम्परागत कृषि संस्कृतिको संरक्षण, ग्रामीण आत्मनिर्भरता र दिगो कृषि विकासतर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्