काठमाडौं – आगामी आर्थिक वर्षको बजेटप्रति सत्तारुढ नेपाली कांग्रेसका सांसद दीपक गिरीले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्। संसदको बैठकमा मन्त्रालयगत बजेट शीर्षकमाथि धारणा राख्दै उनले यो बजेट न जनमुखी भएको, न लगानीमैत्री भएको, न त सत्ता पक्षका सांसद मैत्री नै भएको टिप्पणी गरे।
‘बजेटमाथि खुसीका साथ कुरा राखौंला भन्ने आशा थियो,’ गिरीले रोष्ट्रममा भने, ‘तर केही मन्त्रालयको बजेट हेर्दा गम्भीर भएर बोल्नुपर्ने अवस्था आयो।’ उनका अनुसार बजेट शीर्ष नेता वा मन्त्रीहरू केन्द्रित भएको छ। “जो जो मन्त्री हुनुहुन्छ, प्रधानमन्त्री हुनुहुन्छ, त्यही मैत्री भयो जस्तो लाग्छ,” उनले थपे, “बडो कठोरताका साथ भन्नुपर्छ।”
गिरीले झापा जिल्लाको एउटै निर्वाचन क्षेत्रमा मात्र पर्यटनसम्बन्धी ११ वटा योजना परेको भन्दै बजेट असमान रूपमा बाँडिएको उल्लेख गरे। उनले ती योजनाहरूको नामै संसद्मा पढेर सुनाए। सभामुख देवराज घिमिरेकै निर्वाचन क्षेत्रमा एउटा २१ लाखको पर्यटन योजना परेको उल्लेख गर्दै उनले “यो त माया पाएको” भनेर व्यङ्ग्य गरे।
“जनताले ठूलो संघर्ष गरेर ल्याएको यो गणतन्त्रमा बजेट समानरूपमा बाँडिन नसक्दा दुःख लाग्छ,” गिरीले भने। संसदभित्रैबाट उठेको यस्तो आलोचनाले बजेट निर्माण र वितरण प्रक्रिया राजनीतिक पूर्वाग्रहले प्रभावित भएको स्पष्ट संकेत दिएको छ।