तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा छुटे

काठमाडौं — गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शन क्रममा भएको हिंसात्मक घटनासम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।

बिहीबार दिउँसो न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस सकिएपछि मध्यरातमा उक्त आदेश आएको हो। अदालतले सो घटनामा संलग्न रहेको ठहर गर्दै ७ जनालाई थुनामा राख्ने निर्णय गरेको हो भने बाँकी ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

थुनछेकका लागि तीनकुने घटनाका जनकमान्डर भनिएका दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीलाई इजलास बाहिर राखिएको थियो। उनीहरूमध्ये अधिकांशको बयान जेठ १२ देखि २० गतेसम्म लिइएको थियो।

चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आह्वानमा आयोजित प्रदर्शनमा दुर्गा प्रसाईंले नेतृत्व गरेका थिए। उक्त प्रदर्शन हिंसात्मक बन्दै जाँदा दुई जनाको मृत्यु भएको थियो। त्यस क्रममा निजी घर र सरकारी सवारीसाधनमा तोडफोड र आगजनी हुनुका साथै जडिबुटी प्रशोधन केन्द्रमा समेत क्षति पुगेको थियो। यस घटनापछि सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ ११ गते ६१ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

दायर मुद्दामध्ये ५० जनाविरुद्ध आपराधिक उपद्रव, राज्यविरूद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको छ। तीमध्ये दुर्गा प्रसाईंसहित ८ जनाविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगसमेतको गम्भीर आरोप छ। बाँकी ११ जनाविरुद्ध आपराधिक उपद्रवको मात्र मुद्दा दायर गरिएको छ, जसमा उनीहरू धरौटीमा छुटिसकेका छन्।

५० जनामध्ये ३९ जना मात्रै प्रहरीको सम्पर्कमा रहेका कारण उनीहरू विरुद्ध मात्र प्रक्रिया अघि बढाइएको थियो। बाँकी व्यक्तिहरू अझै फरार अवस्थामा रहेका छन्। अदालतको पछिल्लो आदेशले यो मुद्दा थप गम्भीर मोडमा प्रवेश गरेको छ भने घटनाका मुख्य अभियुक्तहरूमाथि अब विस्तृत रूपमा अदालती सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्