काठमाडौं — भारतको अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ विमान दुर्घटना हुँदा २४१ जनाको ज्यान गएको छ । बिहीबार दिउँसो भारतीय समयअनुसार २ बजेर ३८ मिनेटमा उडेको विमान २ बजेर ४० मिनेटमै खसेर आगो लागेको थियो । टाटा कम्पनीको स्वामित्वमा रहेको सो विमानमा २३० यात्रु र १२ चालक दलका सदस्यहरू सवार थिए ।
दुर्घटनामा एक जना मात्र यात्रु जीवित रहेका छन् । ती भारतीय मूलका ब्रिटिश नागरिकलाई गम्भीर अवस्थामा उद्धार गरी उपचार भइरहेको जनाइएको छ । घटनास्थलको निरीक्षण गरेका भारतीय गृहमन्त्री अमित शाहले पत्रकारहरूलाई जानकारी दिँदै भने, “सवा लाख लिटर इन्धन भएकाले आगो अत्यन्त भयानक थियो । एक जना मात्र यात्रु जीवित छन्, बाँकी सबैको मृत्यु भएको पुष्टि भइसकेको छ । अधिकांश शव संकलन भइसकेका छन् र मृतकहरूको औपचारिक पुष्टि डीएनए परीक्षणपछि गरिनेछ ।”
भारतीय मिडियाका अनुसार यस दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको छ ।
टाटाको क्षतिपूर्ति घोषणा
टाटा कम्पनीले दुर्घटनाबाट ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई जनही एक करोड रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । साथै, दुर्घटनामा घाइतेको सम्पूर्ण उपचार खर्च कम्पनीले व्यहोर्ने जनाएको छ । दुर्घटनामा क्षतिग्रस्त घरहरूको पुनर्निर्माण पनि टाटाले गर्नेछ ।
विश्वव्यापी समवेदना
यस दर्दनाक दुर्घटनाप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरूले शोक व्यक्त गरेका छन् । साथै, अमेरिका, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, मालदिभ्स, नेपाल लगायतका देशका सरकारले समवेदना प्रकट गरेका छन् ।
दुर्घटनाको कारणबारे आधिकारिक जानकारी आइनसकेको भए पनि प्रारम्भिक अनुमान अनुसार प्राविधिक गडबडीका कारण विमान खसेको हुन सक्ने बताइएको छ । विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको भारतीय विमान प्राधिकरणले जनाएको छ।