अहमदाबाद विमान दुर्घटनामा एकजनाको जीवितै उद्धार

काठमाडौं – भारतको अहमदाबादबाट बेलायतको लन्डनतर्फ उडेको एयर इण्डियाको विमान उडान भर्ने केही मिनेटमै दुर्घटनाग्रस्त हुँदा २४२ यात्रुको मृत्यु भएको भनिए पनि विमानमा सवार एक मात्र व्यक्ति ४० वर्षीय विश्वास कुमार रमेश भने जीवितै उद्धार भएका छन्।

विश्वास कुमारका अनुसार, विमानले टेकअफ गरेको करिब ३० सेकेण्डमै ठूलो आवाज आएको र त्यसपछि अचानक दुर्घटना भएको थियो। “सबै कुरा एकैचोटि भयो,” हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा उनले भनेका छन्। हाल उनी अस्पतालमा उपचाररत छन्। उनको छाती, आँखा र खुट्टामा चोट लागेको बताइएको छ।

प्राप्त विवरणअनुसार, अहमदाबादबाट लन्डनको ग्याटविक विमानस्थलतर्फ जाँदै गरेको एयर इण्डियाको विमान टेकअफ गरेको केही क्षणमै दुर्घटनामा परेको हो। विमान चिकित्सकहरुको आवासीय क्षेत्र नजिकै खसेको थियो, जसले गर्दा भवनमा रहेका अन्य मानिसहरु समेत गम्भीर घाइते भएका छन्।

भारतीय अधिकारीका अनुसार दुर्घटनाग्रस्त विमानमा ११ बालबालिकासहित २४२ जना यात्रु सवार थिए। तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली नागरिक थिए।

प्रहरीले सबै शवको पोस्टमार्टमका लागि प्रक्रिया अघि बढाएको जनाएको छ। घटनास्थलबाट प्राप्त तस्वीर र भिडियोहरूमा विमानका भागहरू होस्टल भवन वरिपरि छरिएको देखिन्छ। विमानको पुच्छरको भाग भवनको छतमा अड्किएको समेत देखिएको छ।

दिल्लीस्थित नेपाली दूतावासले प्रारम्भिक आशंकाका आधारमा नेपाली नागरिक पनि हुनसक्ने भन्दै भारतीय अधिकारीहरूसँग समन्वय गरेको थियो। तर पठाइएको सूची अनुसार, विमानमा कुनै पनि नेपाली नागरिक नरहेको पुष्टि भएको छ।

एयर इण्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले घटनालाई “विपत्तिपूर्ण दुर्घटना” भन्दै समवेदना प्रकट गरेका छन्। यसैबीच, बेलायती राजा चार्ल्सले विज्ञप्ति जारी गर्दै घटनामा धेरै बेलायती नागरिकको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

हाल दुर्घटनाको कारण पत्ता लगाउने अनुसन्धान सुरु गरिएको छ। विमानको ब्ल्याक बक्स फेला पारिएको छ कि छैन भन्नेबारे भने अझै आधिकारिक जानकारी आइसकेको छैन।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्