काठमाडौंका तत्कालिन हाकिम तथा सूचना विभागका महानिर्देशक परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – काठमाडौं महानगरपालिकाको सामाखुसी करिडोरअन्तर्गत बसुन्धारादेखि म्हेपीसम्मको ढल निर्माण ठेक्कामा अनियमितता गरेको अभियोगमा सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बुधबार विशेष अदालतमा दायर गरिएको मुद्दामा परियारसहित महानगरका तत्कालीन निर्देशकहरू रविन्द्रमान श्रेष्ठ, युवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीसमेत प्रतिवादी छन्। अख्तियारका अनुसार सातैजनालाई जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको हो।

अख्तियारले गरेको अनुसन्धानमा ठेक्काको प्रक्रियामा मिलेमतो गरी सबैभन्दा कम लागतमा बोलकबोल गर्ने समानान्तर सेवा प्रालिको प्रस्ताव अस्वीकृत गरी उच्च लागत कबोल गर्ने कल्पवृक्ष कोहीनूर जेभीलाई २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँमा ठेक्का दिएको देखिएको छ।

त्यसैगरी, समानान्तर सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँमा काम गर्न प्रस्ताव पेश गरेको थियो। तर, मनोमानी ढंगले बढी लागतको प्रस्ताव चयन गरी सार्वजनिक सम्पत्तिमा करिब ४ करोड ३१ लाख रुपैयाँको हानि पुर्‍याइएको निष्कर्ष निकाल्दै अख्तियारले मुद्दा अघि सारेको हो।

महानगरपालिकाको कार्यकारी पदबाट सरुवा भई परियार पछि सूचना तथा प्रसारण विभागमा गएका थिए। अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले सार्वजनिक पदधारीहरूबाट मिलेमतोमा भ्रष्टाचार गरी जनस्रोतमाथि धक्का पुर्‍याएको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्