काठमाडौं— सहकारी ठगीको अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं सरुवा गर्ने प्रक्रिया अघि बढाइएको छ। सर्वोच्च अदालतको आदेशपछि थुनामै बसाइ लम्बिने भएपछि उनले डिल्लीबजार कारागारमा सरुवा हुने इच्छा व्यक्त गरेका थिए।
कारागार प्रशासनका अनुसार, उनले जिल्ला अदालत, रुपन्देहीबाट अनुमति प्राप्त गरिसकेका छन्। कारागार व्यवस्थापन विभागमा प्रक्रिया पुगेको र निर्णय भएपछि उनलाई डिल्लीबजार कारागार ल्याइने बताइएको छ।
डिल्लीबजार कारागारमा भेटघाट तथा सुविधाका कारण धेरैजसो ‘भीआईपी’ कैदीको रोजाइ बन्ने गरेको छ। पूर्वमन्त्री श्यामसुन्दर गुप्ता, खुमबहादुर खड्का, रेशम चौधरी, ओमविक्रम राणा लगायत यसअघि डिल्लीबजारमै थुनामा बसेका थिए। लामिछानेलाई सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेपछि उनलाई थुनामुक्त हुने कानुनी बाटो बन्द भएको छ।






