सभामुख घिमिरेको पहलमा गृहमन्त्रीलाई बोल्ने वातावरण बनाउने प्रयास

काठमाण्डौ — सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध भइरहेकाले गृहमन्त्री रमेश लेखकलाई आफ्नो भनाइ राख्न दिने वातावरण निर्माण गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्।

गृहमन्त्री लेखक स्वयंले संसदमा आफ्नो पक्ष राख्न पटक–पटक समय मागिरहेका भए पनि विपक्षी दलहरूले अवरोध जारी राखेका छन्। उनीहरूले गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद चल्न दिएका छैनन्।

सभामुख घिमिरेले आज बिहानैदेखि गृहमन्त्रीको मन्तव्य सुनिश्चित गर्न विपक्षी दलका प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै तथा सत्ता–विपक्षी दलहरूसँग संयुक्त छलफल गरेका छन्। बैठकमा उनले, “पहिले गृहमन्त्रीका कुरा सुनौं, त्यसपछि थप छलफल गरौंला,” भन्ने प्रस्ताव अघि सारेका थिए।

बैठकपछि विपक्षी नेताहरू यस विषयमा आन्तरिक छलफल गर्ने भन्दै बैठकस्थलबाट बाहिरिएका छन्। बैठकमा सहभागी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीले संसदमा बोलेर आफूलाई प्रष्ट पार्न पाउनु पर्ने धारणा व्यक्त गरे। उनले भने, “पहिलो कुरा गृहमन्त्रीले संसदमा बोल्छु भनेर पटकपटक टाइम लिनु भएको छ। त्यो छेक्नु भनेको संसदीय अभ्यास विरुद्ध हो।”

विपक्षी दलहरूको आन्तरिक निर्णयपछि संसदको गतिरोध हट्ने सम्भावना देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्