काठमाण्डौ — चर्चित कलाकार तथा रंगकर्मी घनश्याम गौतमको ४३ वर्षको उमेरमा निधन भएको छ। उहाँको गएराति भक्तपुरको ताथलीस्थित काठमाण्डौ क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित रहनुभएका गौतम नेपाली रंगमञ्च, टेलिशृङ्खला, प्रहसन र विविध कार्यक्रममार्फत दर्शकमाझ लोकप्रिय हुनुहुन्थ्यो। विशेषतः ‘नक्कली प्रचण्ड’को रूपमा उहाँले प्रस्तुत गरेका अभिनयले विशेष चर्चा पाएको थियो।
सडक नाटक, रेडियो नाटक र कचहरीका प्रस्तुतिमा समेत सक्रिय रहँदै आउनुभएका गौतम बहुआयामिक क्षमताका कलाकारका रूपमा चिनिनुहुन्थ्यो। नेपाली रंगकला क्षेत्रमा उहाँको योगदान स्मरणीय रहनेछ।