करण केसीको ऐतिहासिक अर्धशतकमा नेपालको कीर्तिमानी जित

काठमाडौं— नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु टोली स्कटल्याण्डविरुद्ध कीर्तिमानी जित हात पारेको छ। ओपनर कुशल भुर्तेलदेखि लिएर नवौँ नम्बरमा ब्याटिङ गर्न आएका करण केसीको अविश्वसनीय प्रदर्शनले नेपाललाई एकदिवसीय क्रिकेट इतिहासको सबैभन्दा ठूलो लक्ष्य पछ्याएर जित दिलाएको हो।

३०० रनको नजिकको विशाल लक्ष्य पछ्याउँदै नेपालले अन्तिम बलमा १ विकेटले जित हात पार्‍यो। स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य नेपालले ९ विकेट गुमाएर अन्तिम बल बाँकी छँदा पूरा गर्‍यो।

पछिल्लो समय बलरको रूपमा चर्चामा रहेका करण केसीले यसपटक ब्याटिङमा पनि आफूलाई प्रमाणित गरे। नवौँ नम्बरमा मैदान छिरेका करणले ४१ बलमा ३ चौका र ४ छक्का सहित अविजित ६५ रन बनाएर नेपालको जित सुनिश्चित गरे। उनी म्यान अफ द म्याच घोषित भए।

७ विकेट मात्र १९२ रनमै गुमाएको नेपालको अवस्था जटिल हुँदा करण र गुल्शन झाले आठौँ विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरे। अन्तिम ६ ओभरमा ६८ रन आवश्यक भएको अवस्थामा करणले अन्तिम ओभरसम्मको तनावपूर्ण क्षणलाई जितमा बदल्न सफल भए।

अन्तिम ओभरमा नेपाललाई ७ रन आवश्यक थियो। पहिलो बलमै सन्दीप लामिछाने क्याचआउट भए। त्यसपछि रिजन ढकालले एक रन लिँदै करणलाई स्ट्राइक दिए। करणले लगातार दुई बलमा २–२ रन जोडेपछि अन्तिम बलमा १ रन आवश्यक थियो। बल वाइड भएपछि बाइको रूपमा दौडिएर लिएको रनमा रिजन रनआउट भए पनि वाइडको संकेतसँगै नेपालले १ विकेटले जित हात पार्‍यो।

नेपालले टस जितेर बलिङ रोजेको थियो। स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनायो। ओपनर चार्ली टियरले सर्वाधिक ८० रन बनाए भने फिनले म्याकरिथले ५५ रन बनाए। नेपालका लागि करण केसीले बलिङमा पनि चम्किँदै १० ओभरमा १ मेडन सहित २ विकेट लिए। सोमपाल कामी र रिजन ढकालले पनि २–२ विकेट लिए।

नेपालका ओपनर कुशल भुर्तेलले ५३ रनको योगदान गरे। भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ तथा गुल्शन झाले ४२ रन बनाएर महत्वपूर्ण साझेदारी गरे।

यस जितसँगै नेपालले १३ खेलमा ८ अंक जोड्दै अंकतालिकामा सातौँ स्थानमा उक्लिएको छ। स्कटल्याण्ड भने १७ खेलबाट २० अंकसहित चौथो स्थानमा छ। करण केसीको असाधारण ब्याटिङ, अन्तिम ओभरको नाटकीय मोड, र टोलीको सामूहिक प्रयासले नेपाललाई ऐतिहासिक जित दिलाएको छ। यो जित नेपालको क्रिकेट इतिहासमा एक अविस्मरणीय क्षणको रूपमा रहनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्