काठमाडौं — संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय गरिएको छ।
प्रतिनिधि सभाको आजको बैठक विशेष महत्वको रहने अपेक्षा गरिएको छ, किनकि आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि औपचारिक छलफल सुरु हुँदैछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। पौडेलले गत जेठ १५ गते संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका थिए।
त्यसका अतिरिक्त, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि रहेको छ।
दिउँसो १ः१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। साथै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धी संशोधनमाथि छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्।
संसदको आजको बैठकमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्ने तयारी गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको भन्दै छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले निरन्तर दबाब दिँदै आएका छन्।
आजको बैठकले बजेटसम्बन्धी बहसको सुरुवातसँगै संसदमा राजनीतिक तापक्रम अझ चुलिने संकेत देखिएको छ।






