सिंहदरबारमा ओली , देउवा र प्रचण्डबीच के भयो छलफल ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा महत्वपूर्ण छलफल भएको छ। संसद्को गतिरोध अन्त्य र समसामयिक राजनीतिक परिस्थिति केन्द्रमा राखेर गरिएको उक्त छलफललाई राजनीतिक वृत्तले गम्भीर महत्व दिएको छ।

छलफलमा प्रधानमन्त्री ओलीले संसद् अवरुद्ध हुनु हुँदैन भन्ने अडान दोहोर्याउँदै गृहमन्त्रीको राजीनामा आवश्यक नरहेको बताएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। उनले भने, “गृहमन्त्रीको राजीनामा होइन, संसद् खोलेर अघि बढ्नुपर्छ भनेर प्रधानमन्त्री र गृहमन्त्रीले कुरा राख्नुभयो।”

विपक्षी दलहरू, विशेषतः माओवादी केन्द्र, गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएका छन्। भिजिट भिसा प्रकरणमा गम्भीर प्रश्न उठिरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान दोहोर्‍याएका छन्।

“जुन कुरा हामीले सदनमा उठाएका छौं, त्यो भनेको भिजिट भिसाको विषय हो। गृहमन्त्रीले यस विषयमा मार्गप्रशस्त गरिदिनु पर्छ,” प्रमुख सचेतक पाण्डेले भने।

सत्तापक्ष भने गृहमन्त्रीको संलग्नता नभएको भन्दै राजीनामाको माग औचित्यहीन रहेको र गृहमन्त्रीलाई सदनमा आफ्ना तर्क राख्न दिनुपर्ने माग गर्दै आएको छ।

छलफलमा गणतन्त्रवादी शक्तिहरूबीच सहकार्य र ऐक्यबद्धता कायम गर्दै अघि बढ्ने विषयमा समेत सहमति खोजिएको जनाइएको छ।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले संविधानको रक्षा गर्ने सवालमा तीन प्रमुख दलहरू एकमत रहेको बताए। उनले भने, “संसद् अवरुद्ध हुनु हुँदैन भन्ने कुरामा सहमति देखिएको छ। विपक्षी दलले पनि छलफल अघि बढाउने बताएका छन्। हाम्रो बुझाइमा भोलिदेखि संसद् बैठक सञ्चालनमा आउनेछ।”

यसबीच भिजिट भिसा प्रकरणमा देखिएको विवाद, संसद्को अवरोध, र सत्तापक्ष–विपक्षबीचको बढ्दो तनावलाई समाधानतर्फ डोहोर्याउन उच्चस्तरीय संवादले सकारात्मक संकेत दिएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्