पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध एक करोडभन्दा बढी बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ— सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीविरुद्ध एक करोडभन्दा बढी बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दायर गर्दै सोडारीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो। आयोगका अनुसार सोडारीले वैधानिक आम्दानीका स्रोतविना रु १ करोड ८ लाख ३८ हजार ३ सय २ बराबरको सम्पत्ति आर्जन गरेका छन्।  सोडारी कैलाली ४ (१) बाट नेकपा (एकीकृत समाजवादी) का तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी पहिलो पटक २०७४ सालमा प्रदेशसभा सदस्य बनेका थिए। त्यसपछि उनले २०७४ माघदेखि २०७५ कात्तिकसम्म सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

त्यस्तै, २०७८ जेठ १४ गतेदेखि २०७९ मंसिरसम्म उनी भौतिक पूर्वाधार विकासमन्त्रीका रूपमा कार्यरत रहे। सो अवधिमा पदको दुरुपयोग गर्दै उनले स्रोत नखुलेको तरिका र माध्यमबाट सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा अघि बढाएको हो। विशेष अदालतमा दायर मुद्दामा सोडारीविरुद्ध बिगो असुलउपरको माग गरिएको छ भने गैरकानुनी सम्पत्ति राज्यको नाममा कायम गरिनुपर्ने दाबी समेत गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्