भिजिट भिसा प्रकरणमा तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल

काठमाडौं – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच महत्वपूर्ण राजनीतिक छलफल जारी छ। पछिल्लो समय चर्किएको भिजिट भिसा प्रकरणको सन्दर्भमा भएको यो छलफलमा सत्तारुढ र विपक्षी दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा सहभागी छन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, आजको छलफलको मुख्य एजेन्डा भनेको हालै चर्चामा रहेको गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरण हो।

उक्त प्रकरणलाई लिएर संसद् अवरुद्ध भइरहेका बेला भोलिदेखि पुनः संसद् सञ्चालन हुन लागेको छ। त्यसअघि राजनीतिक सहमति जुटाउने प्रयासस्वरूप नेताहरूबीच यो उच्चस्तरीय बैठक बसिरहेको हो। रोचक कुरा के छ भने, भिजिट भिसा प्रकरणको केन्द्रमा रहेका गृहमन्त्री रमेश लेखक स्वयं पनि छलफलमा सहभागी छन्। छलफलमा नेपाली कांग्रेसका नेताहरू पूर्णबहादुर खड्का, कृष्ण सिटौला, माओवादी केन्द्रका देव गुरुङ, हितराज पाण्डे र महेन्द्र राय यादव पनि सहभागी छन्।

स्रोतहरूका अनुसार, आजको छलफलबाट भोलिको संसद् बैठक सहज बनाउन सकिने गरी कुनै सहमति या समझदारी बन्ने अपेक्षा गरिएको छ। भिजिट भिसा प्रकरणमा सार्वजनिक चासो बढिरहेका बेला उच्च राजनीतिक तहबाट समाधानको प्रयास हुनु सकारात्मक संकेतको रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्