काठमाडौं – नेपाल बुद्धिजीवी परिषद्को ११औं महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दिएको एक वक्तव्य अहिले राजनीतिक वृत्तमा व्यापक चर्चाको विषय बनेको छ। जेठ १७ गते काठमाडौंको टोखामा आयोजित कार्यक्रममा ओलीले आफूलाई “झोले” भन्न कुनै संकोच नरहेको भन्दै त्यसैमा गर्व गर्ने अभिव्यक्ति दिएपछि यो शब्द एमाले समर्थकहरूको अभियानकै रूपमा फैलिएको छ।
प्रधानमन्त्री ओलीले भने, “म जनताको हितको झोला बोक्ने, गौरवको झोला बोक्ने, परिवर्तनको झण्डा उठाउने झोले हुँ। के भयो त झोले बन्दा?” भन्दै झोले भन्ने शब्दलाई सकारात्मक अर्थमा प्रयोग गरेका थिए।
उनले फेसबुकमा दुई हात जोडेको फोटोसहित लेखेका छन्, “म झोले हो। एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो।”
प्रधानमन्त्री ओलीको यो घोषणालाई पार्टीका नेतादेखि कार्यकर्ता तहसम्मले तत्कालै अंगालेका छन्। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत नेताहरूले पनि सामाजिक सञ्जालमा आफूलाई ‘झोले’ घोषित गरेका छन्।
‘म झोले हुँ’ भन्ने सन्देशसहितको व्यक्तिगत फोटो राखेर सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम तीव्र छ। यसले एमाले कार्यकर्ताहरूबीच एउटा साझा पहिचान र मनोवैज्ञानिक एकताको रूप लिएको देखिन्छ।
ओलीको यो घोषणालाई विश्लेषकहरूले विपक्षीहरूले आलोचनाको रूपमा प्रयोग गर्ने शब्दलाई उल्ट्याएर सशक्त राजनीतिक नारामा बदल्ने रणनीति मानेका छन्। झोले भन्ने शब्द सामान्यतया कटाक्षका रूपमा प्रयोग गरिँदै आएको भए पनि, ओलीले त्यसलाई ‘जनताको प्रतिनिधि’, ‘परिवर्तनको वाहक’ र ‘गौरवपूर्ण कार्यकर्ता’को प्रतीक बनाउने प्रयास गरेका छन्।
प्रधानमन्त्री ओलीको ‘झोले हुँ’ भन्ने उद्घोष र त्यसपछि एमाले कार्यकर्ताहरूमा देखिएको प्रतिक्रियाले एमालेभित्र एक प्रकारको ‘सांस्कृतिक प्रचार रणनीति’को रूप लिएको छ। आलोचनालाई अवसरमा बदल्ने ओलीको शैली र पार्टी कार्यकर्ताहरूको तुरुन्तको समर्थनले यो अभियान केही समय राजनीतिक बहसको केन्द्रमै रहने संकेत दिएको छ।






