काठमाडौं – राइड सेयरिङविरुद्ध देशव्यापी रूपमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र सरकारबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको छ।
सोमबार बिहानदेखि देशभर सार्वजनिक यातायात बन्द गराएर दबाब सिर्जना गरेका व्यवसायीहरूसँग गृह मन्त्रालयले संवाद थालेको हो। गृहमन्त्री रमेश लेखकको पहलमा सुरु भएको वार्तामा मन्त्रालयका सचिवहरू, नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा अन्य ७ वटा सम्बद्ध संघ–संस्थाका प्रतिनिधिहरू सहभागी छन्।
काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक सवारी साधन सञ्चालनमा नआएपछि यात्रुहरू मर्कामा परेका छन्। उपत्यकाभित्र मात्र नभई बाहिर जाने गाडीसमेत ग्यारेजमै थन्किएका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली ल्याएर कार्यान्वयनमा ल्याएपछि सुरु भएको विरोध क्रमशः चर्किंदै देशव्यापी आन्दोलनमा परिणत भएको हो। आन्दोलनको नेतृत्व नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको छ। महासंघलाई ट्रक व्यवसायी, ढुवानी व्यवसायी संघ, मजदुर संगठन लगायतका अन्य यातायात क्षेत्रसँग सम्बन्धित संघ–संस्थाले समर्थन जनाएका छन्।
सरकार र व्यवसायीबीचको वार्ताबाट समस्या समाधानको बाटो खुल्ने अपेक्षा गरिएको छ।






