काठमाडौँ- समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सात वर्षदेखि देशभर साहित्यिक यात्रा सञ्चालन गर्दै आएको जेसुम (जर्नी फर एजुकेशन, सोसियल चेन्ज एण्ड युनिटी मुभमेन्ट) को मध्यपुरथिमिमा भएको यात्रालाई समेटिएको पुस्तक ‘मध्यपुरथिमिमा जेसुम’ लोकार्पण गरिएको छ।
सम्बृद्ध मध्यपुर समाज नेपालले प्रकाशन गरेको सो पुस्तकको लोकार्पण मध्यपुरथिमिस्थित कराते एकेडेमीमा नेपालकी प्रथम महिला राधिका शाक्य, मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठ, जेसुमकी संस्थापक संयोजक तथा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा लगायतका साहित्यकारहरुको संयुक्त उपस्थितिमा सम्पन्न भयो।
गत जेठ १ गते शंखधर चोकस्थित शंखधर साख्वाको शालिकबाट सुरु गरिएको जेसुमको सम्पदा यात्रा बालकुमारी, नगदेश हुँदै बोडेको कुमारी मन्दिरसम्म गरिएको थियो। सो क्रममा श्रष्टाहरुले लेखेका कविता, सम्पदास्थलमै कोरिएका चित्रहरुसहितको स्मृति संग्रह पुस्तकमा समेटिएको छ।
पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न साहित्यिक व्यक्तित्वका कविता समावेश छन्। लोकार्पण समारोहमा लेखक स्वयंले आफ्नो कविता वाचन गरेका थिए।
पुस्तकमा अनिता लामा, बालकृष्ण बस्नेत, स्नेह साय्मी, फूलमान वल, लक्ष्मी माली, शशी लुमुम्बु, अनन्त वाग्ले, घनश्याम खतिवडा, रामगोपाल आशूतोष, रति थापा श्रेष्ठ लगायतका स्रष्टाहरुका रचना प्रकाशित छन्। त्यस्तै चित्रकार दीपेन्द्रमान वनेपाली, सरिता मण्डल, चन्द्रा श्रेष्ठलगायतले यात्राका क्रममा बनाएका क्यानभास चित्रहरु पनि समावेश छन्।
कार्यक्रममा बोल्दै संयोजक अनिता लामाले जेसुमले ‘देश घुमौं, देश चिनौं’ भन्ने नारासहित साहित्य, कला र रंगमञ्चको माध्यमबाट परिवर्तनको अभियान अगाडि बढाएको बताइन्। उनले जेसुमलाई सबै स्रष्टाको साझा चौतारी भन्दै कलाकारदेखि साहित्यकारसम्म सबैलाई अभियानमा सहभागी हुन आग्रह गरिन्।
पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरको ऐतिहासिक सम्पदा जेसुम यात्रामार्फत अझ व्यापक प्रचार भएको बताउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यसको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सम्पदा संरक्षण र परिचयमा जेसुमले ऐतिहासिक योगदान दिएको बताए।
राधिका शाक्य : “हामी देश छाडेर भाग्दैनौं”
कार्यक्रममा बोल्दै नेपालकी प्रथम महिला राधिका शाक्यले केही दिन अघि आएका राजावादी अभिव्यक्तिप्रति टिप्पणी गर्दै भनिन्, “शरीरमा एक थोपा रगत बाँकी रहुञ्जेल हामी देशका लागि लडिरहनेछौं। हामी भाग्दैनौं, कतै जान्न पनि खोज्दैनौं।”
शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट पनि यही प्रतिबद्धता दोहोर्याउँदै सरकारको विकास प्रयासलाई गलत ठहर नगर्न आग्रह गरिन्। उनले आन्दोलनका नाममा बालुवाटार घेरौँ भन्नेहरुलाई प्रष्ट चिनिएको भन्दै जनतालाई सत्य मूल्यांकन गर्न आग्रह गरिन्।
कार्यक्रममा वाग्मती प्रदेशका पूर्व सांसद शशीजंग थापाले आफ्ना परिवारबाट लिखित श्रीमद् भागवत पुस्तक शाक्यलाई प्रदान गरे भने नम्रता थापाले शाक्यको पुस्तक करुणा को समिक्षा प्रस्तुत गरिन्।