स्कटल्याण्डमा लिग–२ एकदिवसीय शृंखला सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग भिड्दै

काठमाडौं — स्कटल्याण्डमा आजदेखि सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तरगतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दै छन्। शृंखलाको पहिलो खेलमै नेपालले आयोजक टिम स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

डुन्डीमा हुने खेल नेपाली समयअनुसार आज अपराह्न ३:४५ बजे (पौने ४ बजे) सुरु हुनेछ।

नेपाल र स्कटल्याण्डबीचको प्रतिस्पर्धा
नेपालले यसअघि पनि लिग–२ अन्तर्गत स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिसकेको छ। अमेरिकामा सन् २०२३ को अक्टोबरमा भएको शृंखलामा नेपालले स्कटल्याण्डसँगको एक खेल जितेको थियो भने अर्को खेल वर्षाका कारण रद्द भएको थियो।

ओडिआईमा यी दुई टिमबीच हालसम्म ८ खेल भएका छन्। जसमध्ये नेपालले ४ खेल जितेको छ, स्कटल्याण्डले ३ खेल जितेको छ भने १ खेल नतिजाविहीन भएको छ। पछिल्ला ४ खेलमा नेपाल अपराजित रहँदै ३ खेल जितेको छ।

अभ्यास खेल र तयारी
शृंखलाअघि नेपालले बेलायतमा विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेल खेलेको थियो, जसमा टिम अपराजित रह्यो। स्कटल्याण्ड आएपछि नेपालले स्कटल्याण्ड ‘ए’ टिमसँग दुई अभ्यास खेल खेलेको थियो।
पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा ब्याटिङ गर्दै ४५ ओभरमा २५३ रन बनाएको थियो तर वर्षाका कारण दोस्रो इनिङ सम्भव भएन।

अंकतालिकामा नेपालको अवस्था
हालसम्म १२ खेलबाट जम्मा ६ अंकसहित नेपाल लिग–२ मा ८ टिममध्ये पुछारमा रहेको छ। स्कटल्याण्डको घरेलु मैदानमा खेल्नु चुनौतीपूर्ण हुने भए पनि अभ्यास खेलमा देखाएको लयलाई निरन्तरता दिन सके नेपालका लागि यो शृंखला पुनरागमनको अवसर बन्न सक्छ।

संयमित ब्याटिङ, अनुशासित बलिङ र मैदानमा आत्मविश्वासपूर्ण प्रदर्शनका साथ नेपालले शृंखलामा राम्रो परिणाम निकाल्न सक्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्