पन्जाब किङ्स आईपीएल २०२५ को फाइनलमा, मुम्बई इन्डियन्स पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को क्वालिफायर २ मा पन्जाब किङ्सले मुम्बई इन्डियन्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। गए राति भएको रोमाञ्चक खेलमा पन्जाबले मुम्बईले दिएको २०४ रनको लक्ष्य १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

मुम्बई इन्डियन्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०३ रन बनायो। मुम्बईका लागि जोनी बेयरिस्टोले ३८ रन, तिलक बर्मा र सूर्यकुमार यादवले समान ४४ रन, नमन धीरले ३७ रन, हार्दिक पाण्ड्याले १५ रन, तथा रोहित शर्मा र राज बवाले समान ८ रन जोडे। पन्जाबका लागि अजमतुल्लाह उमरजाइले २ विकेट लिए भने केयल जेमिसन, मार्कस स्टोइनस, विजयकुमार व्यसक र युजबेन्द्र चहलले समान १ विकेट हात पारे।

जवाफी ब्याटिङमा पन्जाबका कप्तान श्रेयस ऐय्यरले ४१ बलमा नटआउट ८७ रनको सानदार पारि खेले। प्रियान्स आर्याले २० रन, जोश इङ्लिसले ३८ रन र नेहाल बडेराले ४८ रन जोडेर महत्वपूर्ण योगदान दिए। मुम्बईका लागि अस्विनी कुमारले २ विकेट लिए भने हार्दिक पाण्ड्या र ट्रेन्ट बोल्टले समान १ विकेट लिए।

यो जितसँगै पन्जाब किङ्सले आईपीएल २०२५ को फाइनलमा स्थान पक्का गरेको छ, जहाँ उसले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। आरसीबीले क्वालिफायर १ मा पन्जाबलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

यो फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ, किनकि दुवै टोलीले सिजनभर उत्कृष्ट प्रदर्शन गरेका छन्। पन्जाबका कप्तान ऐय्यरको नेतृत्व र आरसीबीको सन्तुलित टोलीबीचको यो भिडन्तले आईपीएल २०२५ को उपाधि कसले जित्ने भन्ने टुङ्गो लगाउनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्