काठमाडौँ — सार्वजनिक यातायात व्यवसायीहरूले सोमबार (जेठ १९) देखि देशभर अनिश्चितकालीन रुपमा सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक सवारी साधन ग्यारेजमै थन्क्याएर आन्दोलन सुरु गरिएको हो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार, गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नियमावली खारेजीको माग गर्दै बन्दको निर्णय लिइएको हो। नियमावलीले निजी प्रयोजनका लागि खरिद गरिएका सवारीसाधनलाई व्यावसायिक रूपमा प्रयोग गर्न दिने व्यवस्था गरेको भन्दै व्यवसायीहरू आक्रोशित भएका छन्।
राईले भने, “हामीले सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराएका थियौं। तर हाम्रो मागको सुनुवाइ नभएकाले सवारी साधनलाई घर तथा ग्यारेजमै थन्क्याएर आन्दोलनमा उत्रनु परेको हो।”
यसैबीच, आइतबार ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस बन्दले पर्न सक्ने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्छ। आम उपभोक्ता, यात्रु, मजदुर, कर्मचारीहरू सबैलाई सार्वजनिक यातायात जोगाउन आन्दोलनमा क्षेत्रअनुसार सहयोग गर्न हार्दिक अपिल गर्दछौं।”
सेवाग्राही प्रभावित हुने अनुमान
यातायात व्यवसायीहरूको यस निर्णयले देशभर सार्वजनिक यातायात ठप्प हुने हुँदा यात्रुहरू, मजदुरहरू र दैनिक सेवा लिने सर्वसाधारण ठूलो समस्यामा पर्ने देखिएको छ। विद्यालय, अस्पताल, कार्यालयजस्ता क्षेत्रमा जान कठिनाइ हुने भएकोले सार्वजनिक चासो बढेको छ।
सरकारले व्यवसायीहरूको मागलाई सम्बोधन गर्दै वार्तामार्फत समाधानको पहल गर्ने वा वैकल्पिक व्यवस्थाको घोषणा गर्ने अपेक्षा गरिएको छ।