काठमाडौं — काठमाडौं उपत्यकामा घोषित बन्द कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक वक्तव्य जारी गर्दै उक्त कार्यक्रममा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।
आइतबार राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको मागसहित गरिएको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहलगायतका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सोही घटनाको विरोधस्वरूप केही नेताहरूले उपत्यका बन्दको घोषणा गरेका थिए। तर, ती सबै पक्राउ परेका नेताहरू आइतबार साँझ नै रिहा भइसकेको लिङ्देनले जानकारी दिएका छन्।
अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसकेका छन्, त्यसैले भोलि (जेठ १९ गते) भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता रहने छैन।”
उनले राप्रपा बन्द र हड्तालको विरोधमा रहेको पनि दोहोर्याएका छन्। पार्टीले अहिंसात्मक र लोकतान्त्रिक आन्दोलनको मार्ग अवलम्बन गर्ने स्पष्ट सन्देश दिएको छ। यस घोषणासँगै उपत्यका बन्दको सन्दर्भमा देखिएको अन्योल समाप्त भएको छ भने जनजीवन प्रभावित नहुने अपेक्षा गरिएको छ।