काठमाडौं — काठमाडौँको नक्सालस्थित नारायणचौरबाट आइतबार राजसंस्था पुनःस्थापनाको मागसहित प्रदर्शनमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा अध्यक्ष थापासँगै ललितपुर निवासी ६२ वर्षीया शिला राणा, भक्तपुरका रामचन्द्र लामिछाने, सरोज तिमिल्सिना तथा टोखा निवासी बिनोद कपाली रहेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराका अनुसार, निषेधित क्षेत्र बालुवाटारतर्फ जबर्जस्ती प्रवेश गर्ने प्रयासपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। बालुवाटार क्षेत्रलाई सरकारले पहिले नै निषेधित क्षेत्र घोषणा गरिसकेको छ।
यसअघि, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष थापालगायत पक्राउ परेका व्यक्तिहरूको तत्काल रिहाइको माग गर्दै धर्ना सुरु गरिएको जानकारी दिएका थिए। श्रेष्ठका अनुसार रिहा नभए आन्दोलनलाई थप सशक्त बनाइनेछ।
राजसंस्थाको पुनःस्थापना र नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणाको मागसहित राप्रपाले जेठ १५ देखि आन्दोलन गर्दै आएको छ। आइतबारको प्रदर्शन नारायणचौरबाट सुरु भई बालुवाटारतर्फ उन्मुख थियो। सो क्रममा निषेधित क्षेत्र प्रवेश प्रयास भएपछि प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्था सिर्जना भएको थियो।