बालुवाटार प्रवेश प्रयासपछि राजावादीको धर्ना, अध्यक्ष कमल थापा सहित ५ जना पक्राउ

काठमाडौं — राजसंस्था पुनःस्थापनाका साथै नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका राजावादीहरूले आइतबार काठमाडौंको नारायणचौरमा धर्ना सुरु गरेका छन्। राप्रपा, नेपालका अध्यक्ष कमल थापा सहित पाँच जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि आन्दोलनकारीहरूले धर्नाको घोषणा गरेका हुन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कमल थापा सहित आइतबार पक्राउ परेका सबै व्यक्तिको यथाशीघ्र रिहाइको माग गर्दै धर्ना सुरु गरिएको जानकारी दिए। “हामीले शान्तिपूर्ण धर्ना थालेका छौं। यदि उनीहरूलाई चाँडै रिहा गरिएन भने आन्दोलन अझ चर्को बनाउनेछौं,” श्रेष्ठले बताए।

यसअघि, नारायणचौरबाट बालुवाटारतर्फ जुलुससहित अघि बढेका प्रदर्शनकारीहरू निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपील राज बोहराका अनुसार, बालुवाटार क्षेत्रतर्फ अघि बढ्दै गरेका प्रदर्शनकारीहरूले प्रहरीको अवरोध तोड्न खोजेपछि अध्यक्ष थापा सहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो।

“सरकारले पहिले नै बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। सो क्षेत्र अतिक्रमण प्रयास भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो,” एसपी बोहराले जानकारी दिए। नियन्त्रणमा लिइएका सबैलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइएको छ।

राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी समूहले जेठ १५ देखि चरणबद्ध आन्दोलन सुरु गरेको थियो। शनिबारको प्रदर्शन पनि बालुवाटार नजिकै पुगेको थियो भने आइतबार पुनः नारायणचौरबाट बालुवाटारतर्फ प्रस्थान गर्दा झडपको स्थिति सिर्जना भएको थियो। प्रहरीका अनुसार प्रदर्शनकारीहरू उग्र बन्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि हस्तक्षेप गर्नुपरेको हो।

सरकारी उच्च पदस्थ व्यक्तिहरूको निवास रहेको बालुवाटार क्षेत्र सुरक्षाका दृष्टिले संवेदनशील मानिने क्षेत्र हो। यसकारण त्यहाँ अनाधिकृत रूपमा भीड जम्मा हुन नदिने नीति अनुसार प्रहरीले कारबाही गरेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्