काठमाडाैँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा आयोजित ‘अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन’ स्थापना सम्बन्धी महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भई गएराति स्वदेश फर्किएकी छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन्। नेपाल उक्त महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षकको रूपमा सहभागी भएको हो।
उक्त महासन्धिमा ३२ देशले हस्ताक्षर गरेका थिए भने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूको उपस्थिति रहेको थियो। स्थापना गरिने सो मध्यस्थता सङ्गठनले राष्ट्र–राष्ट्रबीच, राष्ट्र र निजी कम्पनी तथा विभिन्न देशका व्यवसायीहरूबीच उत्पन्न हुने विवादलाई मध्यस्थतामार्फत समाधान गर्ने उद्देश्य राखेको छ।
समारोहको अवसरमा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। भेटमा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने, आर्थिक, प्राविधिक तथा व्यावसायिक सहकार्य विस्तार गर्ने, र चिनियाँ सहयोगमा निर्माणाधीन परियोजनाहरूलाई समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको जानकारी दिइएको छ।
त्यसैगरी, मन्त्री डा. राणाले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव विशेष कार्यक्रमहरूसहित मनाउने र दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने सहमति भएको पनि बताएकी छन्।
उक्त कार्यक्रममा मन्त्री राणाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एशिया महाशाखाका प्रमुख भृगु ढुंगाना, हङकङस्थित नेपालका महावाणिज्यदूत डा. बिन्देश्वरप्रसाद लेखकसहित परराष्ट्र मन्त्रालय र महावाणिज्यदूतावासका प्रतिनिधिहरू सहभागी थिए।