२ अर्ब ५० करोड हिनामिना प्रकरणमा कर्णाली विकास बैंकका पूर्व सिइओ राजेन्द्रवीर राय पक्राउ

काठमाडौं, १८ जेठ — कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्रवीर रायलाई २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो।

राय केही समयदेखि फरार थिए। बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गत उनीविरुद्ध अनुसन्धान अघि बढाइएको सीआईबी प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए। रायले २०६० सालमा स्थापना भएको कर्णाली विकास बैंकमा संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए भने २०७६ देखि २०७९ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। यसबीचमा उनी पटकपटक सञ्चालक समितिको अध्यक्ष समेत बनेका थिए।

बैंकमा भएको हिनामिना प्रकरणमा पूर्व सिइओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सिइओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाह समेत अनुसन्धानको घेरामा परेको एआईजी खापुङले जानकारी दिए। बैंकमा अनियमितता भएको आशंकापछि गत पुस ५ गते सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले दिएको प्रतिवेदनमा राजेन्द्रवीर रायसहितका केही व्यक्तिले १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको उल्लेख छ। समितिले संलग्नहरूलाई अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने सुझाव पनि दिएको थियो।

रायको स्थायी ठेगाना सल्यान भए पनि उनी पछिल्लो समय बाँकेमा बसोबास गर्दै आएका थिए। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्