काठमाडौं – स्वास्थ्य बीमा बोर्डले पेन्डिङ अवस्थामा रहेका स्वास्थ्य बीमा दाबीहरुको रिभ्यु गर्नका लागि करार सेवामा १८० जना मेडिकल अधिकृत माग गर्दै विज्ञापन आह्वान गरेको छ। बोर्डले उनीहरुलाई ९० दिनका लागि करारमा नियुक्त गर्न लागेको हो। बोर्डका अनुसार करारमा नियुक्त गरिने चिकित्सकहरुले साउन यता रिभ्यु हुन बाँकी मागदाबीहरुको मूल्यांकन (रिभ्यु) कार्यमा परिचालित हुनेछन्। हालसम्म झन्डै ११ महिनाको रिभ्यु प्रक्रिया थालिएको छैन, जसको असरस्वरूप १६ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी रोकिएको बोर्डले जनाएको छ।
सूचना अधिकारी विकेश मल्लका अनुसार, आवेदन दिन इच्छुक उम्मेदवारले एमबीबीएस उत्तीर्ण गरेको हुनुपर्नेछ। नियुक्त मेडिकल अधिकृतले नेपाल सरकारद्वारा तोकिएको आठौँ तहअनुसारको सेवा सुविधा प्राप्त गर्नेछन्। जनशक्ति अभावकै कारण रिभ्यु प्रक्रिया ढिलाइमा परेको भन्दै बोर्डले सेवा प्रदायक संस्थाहरुलाई बाँकी रहेको भुक्तानी रकम फरफारक गर्न सरकारले १५ जेठको बजेट वक्तव्यमा व्यक्त गरेको प्रतिबद्धताअनुरूप यो निर्णय लिएको जनाएको छ।
हाल बोर्डमा करिब २५ जना मेडिकल अफिसर, नर्स तथा फार्मासिस्टले रिभ्यु कार्यमा संलग्न रहेका छन्। यस्तै, स्वास्थ्य सेवा विभागमार्फत छात्रवृत्तिबाट ३० बढी मेडिकल तथा नर्सिङ अधिकृत बोर्डमा खटाउने निर्णय भइसकेको छ। योग्यता पुगेका इच्छुक चिकित्सकहरूले ७ दिनभित्र आवेदन दिनुपर्ने बोर्डले जनाएको छ।