भक्तपुर क्यान्सर अस्पतालको अग्रसरतामा सुर्तीजन्य पदार्थ विरुद्ध र्‍याली र संकल्प कार्यक्रम सम्पन्न

 

काठमाडौं – विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन्। यसै सन्दर्भमा भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा शनिबार राजधानीमा सुर्तीजन्य पदार्थ विरुद्ध र्याली, नाटक प्रदर्शन तथा संकल्प कार्यक्रम सम्पन्न भएको छ।

बुढानिलकण्ठ मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रभातफेरी र जनचेतनामूलक र्याली निकालिएको थियो। कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको सहआयोजनामा ‘सुर्तीजन्य पदार्थ त्याग्ने’ संकल्प लिइएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यक्रममा सम्बोधन गर्दै सुर्तीजन्य पदार्थ सेवनको सामाजिक, आर्थिक र मानसिक असर गम्भीर रहेको उल्लेख गरे। उनले भने, “युवाहरू भविष्यका आधारशिला हुन्, तर उनीहरू नै यस्तो लतमा फस्दै गएका छन्, जुन उनीहरूको सम्भावनालाई नष्ट गरिरहेको छ। विद्यालय, क्याम्पस र समुदायका प्रत्येक तहबाट यसको विरुद्ध आवाज उठ्नुपर्छ।” स्वास्थमन्त्री पौडेलले सुर्तिजन्य पदार्थ सेवन आफु पनि नगर्ने र अरुलाई पनि नगर्न कार्यक्रममै संकल्प गराएका थिए ।

स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले राज्यका केही निकायहरू राजस्वको मोहमा यस्ता उद्योगहरूलाई अप्रत्यक्ष रूपमा सहजीकरण गरिरहेको उल्लेख गर्दै ती उद्योगहरूले नागरिकको स्वास्थ्यमा दीर्घकालीन असर पारिरहेको बताए। “नियमनका लागि ऐन त छ, तर कार्यान्वयन कमजोर छ,” उनले स्पष्ट पारे। “सुर्तीजन्य उद्योगहरू राज्यको समृद्धिमा योगदान दिने आवश्यक क्षेत्र होइनन्। तर कर राजस्वको मोहमा राज्यका केही निकायहरूले यस्ता उद्योगलाई अप्रत्यक्ष रूपमा सहजीकरण गरिरहेका छन्, जसको सिधा असर नागरिकको स्वास्थ्यमा परेको छ। यसले दीर्घकालीन रूपमा हाम्रो स्वास्थ्य प्रणालीमा भार बढाइरहेको छ। पछिल्लो समय लागू गरिएको ऐनले केही मात्रामा नियन्त्रण ल्याएको भए पनि त्यो पर्याप्त छैन, किनभने नीतिको प्रभाव कार्यान्वयनमा निर्भर हुन्छ। यदि हामी सबै नागरिकले सुर्तीजन्य पदार्थको सेवन नगर्ने संकल्प लिन्छौँ भने यस्ता उद्योगहरू स्वतः बन्द हुनेछन्। त्यसैले हामीले व्यक्तिगत स्तरदेखि सामुदायिक तहसम्म स्वास्थ्यप्रति उत्तरदायी व्यवहार अपनाउनु आवश्यक छ। सरकार, नागरिक समाज, स्वास्थ्य क्षेत्र र शैक्षिक संस्थाबीच समन्वय गरी मात्र दीगो परिवर्तन सम्भव छ।”

मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले सामूहिक प्रयासमार्फत जनचेतनामूलक सन्देशहरू फैलाउने समय आएको बताए। सुर्तीजन्य पदार्थ सेवनको विरुदद्ध जनचेतनामुलक सन्देशहरु फैलाउनु आजको आवश्यकता भएको बताए । कसैले सुर्तीजन्य पदार्थ सेवन गरिरहेको भए आजैदेखि छोड्न समेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा‍. उज्ज्वल चालिसेले सुर्तिजन्य पदार्थ सेवन विरुद्धको दिवसले स्वास्थ्यप्रति गम्भीर सन्देश दिने बताए। “वर्षेनी विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइन्छ, तर यसरी र्याली निकालेर मनाउनु भनेको पहिलो पटक हो,” उनले भने, “स्वस्थ समाज निर्माणका लागि यस्ता दिवसहरूलाई सबैले आ–आफ्नो स्थानबाट स्वतस्फुर्त रूपमा मनाउनु आवश्यक छ।” उनले सुर्तिजन्य पदार्थका कारण उत्पन्न स्वास्थ्य समस्याबारे जानकारीमूलक प्रस्तुति पनि दिएका थिए।

चिन्ताजनक तथ्यांक

नेपालमा हाल ३४ प्रतिशतभन्दा बढी नागरिकले कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्यांक छ। पछिल्लो तीन वर्षमा यसको प्रयोग दर २.३ प्रतिशतले बढेको पाइएको छ। यद्यपि नेपालमा बालबालिकामा सुर्तीजन्य पदार्थको प्रयोगसम्बन्धी यकिन तथ्यांक छैन, अनुमानित रूपमा ठूलो संख्यामा बालबालिका धुम्रपान तथा भेप जस्ता पदार्थमा संलग्न भइरहेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वभर ३ करोड ७० लाख बालबालिकाले सुर्तीजन्य पदार्थ सेवन गरिरहेका छन्। चिकित्सकहरूका अनुसार धुम्रपानले रक्तचाप, कोलेस्टेरोल, फोक्सो र मधुमेहसम्बन्धी समस्या निम्त्याउनुका साथै क्यान्सरको जोखिम समेत बढाउँछ।

नेपालमा सुर्तीजन्य पदार्थको नियमनसम्बन्धी कानुन रहेका भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर छ। विशेषगरी होटल, रेष्टुरेन्ट तथा युवा विद्यार्थीहरूबीच हुक्का र भेप प्रयोग बढ्दै जानु चिन्ताको विषय बनिरहेको छ।

कार्यक्रमका वक्ताहरूले नीति निर्माण मात्र नभई कार्यान्वयन र नागरिक सचेतनालाई जोड दिनुपर्नेमा जोड दिएका छन्। सामूहिक प्रतिबद्धता, जनस्तरको संलग्नता र सरकार–नागरिक–संस्था बीचको सहकार्यबाट मात्रै सुर्तीजन्य पदार्थमुक्त समाज निर्माण सम्भव हुनेमा सबैको एकमत रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्