विराटनगर — अविरल वर्षासँगै आएको बाढीले निर्माणाधीन पूर्वपश्चिम राजमार्गका विभिन्न भागमा डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ। कोशी लोकमार्गसमेत बाढीको कारण प्रभावित भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार काली खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो। यद्यपि, वैकल्पिक मार्गमार्फत सवारी आवागमन केही हदसम्म सुचारु गरिएको छ। धुलाबारीनजिकको कल्भर्टमा बनाइएको अस्थायी डाइभर्सन बगाएपछि माटो पुरेर एकतर्फी रूपमा बाटो खुलाइएको जनाइएको छ।
बुट्टावारी–चारआली सडकखण्डमा पनि बाढीले डाइभर्सनमा क्षति पुर्याएको छ। वर्षाले पानीको निकास नभएको र निर्माणाधीन पुल तथा कल्भर्टका लागि बनाइएका माटोका डाइभर्सनमा बाढीको पानी थुप्रिएर सडक अवरुद्ध भएको हो।
प्रहरीका अनुसार माइखोलामा आएको बाढी झापा गाउँपालिका–२ मा बस्तीमा पस्दा २२ घरपरिवार विस्थापित भएका छन्। घटनास्थलमा प्रहरी र स्थानीय जनप्रतिनिधिको टोली पुगेर पीडितहरूलाई सुरक्षित स्थानमा सारिएको छ। केही घरमा बाढीको पानी पसेको जनाइएको छ।
मनसुन प्रवेश गरेको भोलिपल्टैदेखि बाढीको असर देखिन थालेको हो। यातायात, जनजीवन र निर्माणाधीन पूर्वाधारमा प्रभाव परेको छ।