विराटनगर – लगातारको वर्षासँगै आएको बाढीले कोशी लोकमार्गको विभिन्न स्थानमा क्षति पुर्याउँदा सडक अवरुद्ध भएको छ।
आज बिहान करिब ५:३० बजे धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ फेदी भन्ने स्थानमा लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको करिब १०० मिटर कालोपत्रे सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए। सडक बगेपछि दुवैतर्फ सवारी आवागमन ठप्प भएको छ।
त्यसअघि कोशी लोकमार्गको नमस्ते झरना नजिकको खण्डमा रुख लडेपछि सडक बन्द भएको थियो। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा रुख हटाएर सो खण्डमा यातायात पुनः सुचारु गरिएको छ।
यसैबीच, वर्षाका कारण तमोर करिडोरसमेत अवरुद्ध भएको छ भने धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित छरुवा खोलामा आएको बाढीले सडक अवरुद्ध पारेको छ।
मौसम प्रतिकूलताका कारण यात्रा गर्नुअघि ताजा जानकारी लिएर मात्र हिँड्न सम्बन्धित निकायले अनुरोध गरेका छन्।