बजेट कार्यान्वयनमा अर्थमन्त्री पौडेलको जोड, खरिद प्रक्रिया जेठ १६ गतेदेखि अघि बढाउने तयारी

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा आएको प्रतिक्रिया र टिप्पणीप्रति आफू सन्तुष्ट रहेको बताएका छन्। बजेट सार्वजनिक भएपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनतर्फ सरकारको ध्यान केन्द्रित भएको बताएका हुन्।

उनका अनुसार बजेट कार्यान्वयनको प्रक्रिया सुरु गरिसकिएको छ र जेठ १६ गतेदेखि नै खरिद प्रक्रियामा अघि बढाउन पहल थालिएको छ। अर्थमन्त्री पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनका लागि व्यवहारिक कार्ययोजना बनाइने पनि जानकारी दिए।

उनले प्रस्तुत गरेको बजेट यथार्थपरक रहेको जिकिर गर्दै चालु आर्थिक वर्षको राजस्व संशोधित लक्ष्यको तुलनामा १७ प्रतिशतले वृद्धि गरिएको जनाए। बजेटमा विभाज्य कोषमा जानेसहित १३ खर्ब १० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएको छ। यो लक्ष्य प्राप्त गर्न सकिने उनको दाबी छ।

यस्तै, आन्तरिक ऋण कुल गार्हस्थ उत्पादन (जिडिपी) को ५.५ प्रतिशतसम्म उठाउन सकिने सीमाभित्र रहेर ५.३ प्रतिशत मात्र उठाइने उल्लेख गरिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको सीमा भन्दा १३ अर्ब रुपैयाँ कम आन्तरिक ऋण लिने सरकारको योजना छ।

पूर्वाधार आयोजनामा ३ करोड रुपैयाँको सीमा तोकिएको र वैकल्पिक वित्त स्रोतबाट पुँजीगत क्षेत्रमा सहयोग पुग्ने गरी नीति तय गरिएको अर्थमन्त्रालयले जनाएको छ। बजेटमा अधिकतम लागतको ५० प्रतिशतभन्दा कम अनुदान दिने नीति पनि अवलम्बन गरिएको छ।

बजेटको कार्यान्वयनमा चासो बढिरहेको सन्दर्भमा योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले अन्तर्मन्त्रालय समन्वयमा कार्ययोजना निर्माण हुने जानकारी दिए। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पनि बजेटलाई पूर्ण समर्थन रहने र कार्यान्वयनमा राष्ट्र बैंकको समन्वय रहने स्पष्ट पारे।

सरकारले समयमै कार्ययोजना निर्माण र खरिद प्रक्रिया अघि बढाउँदै बजेट कार्यान्वयनमा गम्भीरता देखाएको सन्देश दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्