विपक्षी दलको अडान—गृहमन्त्रीको राजीनामा र छानबिन समिति नबने संसद् चल्दैन

काठमाडौँ— भिजिट भिसा सेटिङ प्रकरण र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिनिधिसभाका विपक्षी दलहरूले संसद् अवरुद्ध गर्ने अडान दोहोर्याएका छन्। सभामुख देवराज घिमिरेद्वारा बोलाइएको प्रमुख सचेतकहरूको बैठकमा प्रमुख प्रतिपक्षी दलसहितका दलहरूले स्पष्ट रूपमा आफूहरूको माग सम्बोधन नहुँदासम्म संसद् नचल्ने बताएका हुन्।

बैठकपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को कार्यतालिका (क्यालेन्डर) बनाउने विषय बैठकको मुख्य एजेण्डा भए पनि विपक्षी दलले आफ्नो अडान कायमै राखेको जानकारी दिए। “हामीले हाम्रो मुख्य माग सम्बोधन नभएसम्म सदन सञ्चालन हुन नदिने कुरा स्पष्ट रूपमा राख्यौँ। अब सरकारको पालो हो,” उनले भने।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने स्पष्ट धारणा बैठकमा राखिएको जानकारी दिए। तर, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने सदन अवरोधसम्बन्धी विषयमा औपचारिक रूपमा कुनै निर्णय नभएको बताए। “संसद्को क्यालेन्डर बनाउने विषयमा औपचारिक छलफल भयो, अवरोधबारे भने अनौपचारिक कुराकानी मात्र भयो,” उनले बताए।

सभामुख देवराज घिमिरेले आगामी जेठ २० गतेदेखि सुरु हुने बजेटमाथिको सैद्धान्तिक छलफललाई लक्षित गर्दै प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए। तर, प्रमुख विपक्षी दलहरूको अडानले संसद् सञ्चालन अनिश्चित बनेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्