काठमाडौँ – बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण पूर्व–पश्चिम लोकमार्ग अन्तर्गतको दाउन्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ। बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलानजिकैको करिब ८ मिटर सडक खण्ड भासिँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो।
अस्थायी ट्राफिक प्रहरी कार्यालय बर्दघाटका प्रमुख, प्रहरी नायब निरीक्षक तिर्थराज भुसालका अनुसार सडक स्तरोन्नतिको क्रममा गरिएको ढलानसमेत उप्किएर भासिएको छ। सडक भासिएको स्थानमा आएको बाढीले तरकारी बोकेको लु ३ च ८४९३ नम्बरको बलेरो जिप बगाएको भए पनि मानवीय क्षति नभएको जनाइएको छ। राति २ बजेदेखि नै सडक अवरुद्ध रहेकाले बिहानसम्म पनि सवारी आवागमन पुनः सञ्चालनमा ल्याउन सकिएको छैन। एकतर्फी रुपमा सवारी सञ्चालनको प्रयास गरिएको भए पनि पुनः दबिएपछि त्यो प्रयास विफल भएको जनाइएको छ।
यसअघि पनि केही दिनअघि यही सडक खण्डमा आंशिक बन्द गरेर निर्माण कार्य भइरहेको थियो। तर सामान्य वर्षामै सडक चिप्लिने, भासिने र पहिरोले अवरुद्ध हुने क्रम दोहोरिँदै आएको छ। सडक अवरुद्ध भएपछि पूर्वबाट पश्चिम गइरहेका सवारी साधन दुम्किबासको ज्यामिरेमा र पश्चिमबाट पूर्व गइरहेका सवारी साधन बर्दघाटमा रोकिएका छन्। यसअघि पनि गत शुक्रबार यही स्थानमा सडक भासिँदा करिब ११ घण्टा सडक बन्द भएको थियो।
यसैबीच, दुम्किबास इलाका प्रहरी कार्यालयका अनुसार वर्षाले विनयी खोलाको डाइभर्सनसमेत बगाएको छ। केही महिनाअघि विनयी खोलाको पुल भत्किएपछि हालसम्म डाइभर्सनमार्फत सवारी आवागमन हुँदै आएको थियो। तर अविरल वर्षाका कारण त्यो वैकल्पिक मार्ग पनि अब असुरक्षित र अयोग्य बनेको छ। अहिले तत्काल सडक सञ्चालनका लागि सुरक्षाकर्मी र निर्माण टोली परिचालन गरिए पनि लगातारको वर्षाले काममा कठिनाइ भइरहेको जनाइएको छ। यथासक्य चाँडो सडक पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको प्रहरी स्रोतले जनाएको छ।