काठमाडौँ – आगामी आर्थिक वर्ष २०८२/८३ को संघीय बजेटमा सुदूरपश्चिम प्रदेशका पूर्वाधार, पर्यटन, ऊर्जा, कृषि तथा स्वास्थ्य क्षेत्रका महत्वपूर्ण योजना समेटिएका छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार संघीय संसद्मा प्रस्तुत गर्नुभएको बजेट कार्यक्रममा कञ्चनपुर, कैलाली, डडेल्धुरा लगायतका जिल्लालाई समेटेर विविध परियोजनाहरू अघि सारिएका छन्।
बजेटमा कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रलाई निजी तथा पर्यटन बोर्डको सहकार्यमा अगाडि बढाउने उल्लेख छ। साथै, शुक्लाफाँटा–खप्तड पदयात्रा मार्ग निर्माण, दोधारा–चाँदनी सुक्खा बन्दरगाह, र महाकाली करिडोरअन्तर्गत ब्रम्हदेव–झुलाघाट–तुसारपानी सडकखण्डको स्तरोन्नति जस्ता परियोजनाहरू समेटिएका छन्।
पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिका लागि मात्र २१ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, मध्यम तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मूल्यका बाली प्रवर्द्धन गर्न ८३ करोड रुपैयाँ छुट्याइएको छ।
शुक्लाफाँटा, खप्तड रामारोशन, बुढीनन्दा क्षेत्रहरूमा पदयात्रा मार्ग विकास गरिने भएको छ। डडेल्धुराको अजयमेरु विमानस्थलको विस्तृत प्रतिवेदन तयार गर्न बजेट विनियोजन गरिएको छ भने कैलालीको गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने योजना छ।
डडेल्धुरामा निर्माणाधीन मेडिकल कलेजको पूर्वाधार निर्माण अघि बढाइने छ। सिकलसेल एनेमिया रोगको रोकथाम र उपचारका लागि नवीनतम प्रविधि अपनाइने र त्यसका लागि विशेष बजेट विनियोजन गरिएको छ।
कैलालीको फाप्ला क्रिकेट स्टेडियमको निर्माण कार्य अघि बढाइने छ भने दोधारा–बरेली ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइनको निर्माण सुरु गरिने भएको छ। चमेलिया–जौलजीबी २२० केभी लाइनको अध्ययन सकिएको र अब निर्माण सुरु गरिने बजेटमा उल्लेख छ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गरिनेछ। रानी जमरा कुलरियाबाट उत्पादन हुने विद्युत् बिक्रीबाट प्राप्त आम्दानी नेपाल सरकारको सञ्चित कोषमा दाखिला गरिनेछ।
कञ्चनपुर, कैलाली लगायत जिल्लामा निर्माणाधीन हुलाकी राजमार्ग दुई वर्षभित्र सम्पन्न गरिनेछ। मोहनापुल–अत्तरिया व्यापारिक मार्गको निर्माण कार्य पनि अन्तिम चरणमा पुर्याइनेछ। डडेल्धुराको रुपालसम्मको बस्ती र बजारलाई जोड्ने मदन भण्डारी राजमार्ग निर्माणका लागि २ अर्ब ५१ करोड विनियोजन गरिएको छ।
अत्तरिया–खोडपे–दार्चुला सडकखण्डलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्न विस्तृत अध्ययन सकिएको र निर्माण सुरु गरिने भएको छ। महाकाली करिडोर अन्तर्गत तुसारपानी–टिंकर सडकखण्डको ट्रयाक खोल्ने, साथै खुटिया–दिपायल सडकको स्तरोन्नतिका लागि समेत आवश्यक बजेट विनियोजन गरिएको छ। सुदूरपश्चिम प्रदेशको पूर्वाधार, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा तथा ऊर्जा क्षेत्रमा केन्द्रित यस बजेटले प्रदेशको समावेशी विकास र समृद्धितर्फको यात्रालाई नयाँ गति दिने अपेक्षा गरिएको छ।