काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसद्मा पेस गरेका छन्। आर्थिक सर्वेक्षणमार्फत अर्थतन्त्रको हालको अवस्था, प्राप्त उपलब्धि तथा चुनौतीहरूबारे जानकारी दिइएको हो।
अर्थमन्त्री पौडेलका अनुसार यो वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएको छ। उनले मधेश, कोशी र सुदूरपश्चिम बाहेक अन्य सबै प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसतभन्दा माथि रहने जानकारी दिए।
उनका अनुसार देशको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्नेछ। कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत रहेको समेत उनले उल्लेख गरे। यस वर्षको मुद्रास्फीति दर ४.७२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
फागुन २०८१ सम्ममा देशको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको समेत अर्थमन्त्रीले जनाए। यद्यपि, वित्तीय पहुँचमा सुधार भएको र हाल सबै स्थानीय तहमा बैंकको शाखा स्थापना भइसकेको जानकारीसमेत उनले दिएका छन्।
सरकारले आज साँझ ५ बजे आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। बजेट पेस गर्नु अगाडि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।