काठमाडौं – सरकारले आज शुक्रबार आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बोलाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको छ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको मुख्य विषयवस्तुबारे मन्त्रिपरिषदलाई ब्रिफिङ गर्नेछन्। बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्ने अपेक्षा गरिएको छ।
यसपछि दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
हालसम्म गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद अवरुद्ध गर्दै आएका विपक्षी दलहरूले आजको संयुक्त बैठकमा अवरोध नगर्ने स्पष्ट पारेका छन्। संसद् सुचारु रहने संकेतपछि बजेट प्रस्तुतिमा कुनै व्यवधान नआउने सरकारको अपेक्षा छ।