काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले १८औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन्। गणतन्त्रको उपलब्धि जनताको लामो संघर्ष र बलिदानको परिणाम भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नागरिक स्वाभिमानको दिवसका रूपमा गणतन्त्र दिवसको महत्व व्याख्या गरेका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै भने, ‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज। मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन।’ उनले सात दशक लामो जनआन्दोलन र बलिदानीपूर्ण सङ्घर्षपछि प्राप्त यो विजयलाई सबै नेपालीले गर्वका साथ स्मरण गर्नुपर्ने उल्लेख गरे।
टुँडिखेलमा विशेष समारोह
१८औं गणतन्त्र दिवसको अवसरमा मूल समारोह समितिको आयोजना तथा नेपाली सेनाको संयोजनमा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, विशिष्ट अतिथि, कूटनीतिक नियोगका प्रतिनिधिसहित सर्वसाधारणको उपस्थिति रहने छ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्काउट, विद्यार्थी समूहको परेड प्रदर्शनसँगै विविध सांस्कृतिक प्रस्तुति, झाँकी तथा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको छ।
देशभर विविध कार्यक्रम
गणतन्त्र दिवसका अवसरमा देशभरका सरकारी कार्यालय, विद्यालय, संघसंस्थाहरूमा प्रभातफेरी, र्याली, वक्तृत्वकला, निबन्ध लेखन प्रतियोगिता, झण्डोत्तोलन, र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ। विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूले पनि आ–आफ्नो देशमा विशेष कार्यक्रम आयोजना गरी नेपाली समुदायसँग गणतन्त्र दिवस मनाइरहेका छन्। नेपालमा २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा गरिएको थियो। त्यसयता हरेक वर्ष यो दिनलाई राष्ट्रिय उत्सवको रूपमा मनाइँदै आएको छ।