भक्तपुर क्यान्सर अस्पतालको नेतृत्वमा सञ्चालित शिविरमा ४६ सयभन्दा बढीको स्क्रिनिङ

काठमाडौं, जेठ १४ — भक्तपुर क्यान्सर अस्पतालले पूर्वी नेपालका विभिन्न जिल्लामा सञ्चालन गरिरहेको क्यान्सर स्क्रिनिङ शिविर अन्तर्गत संखुवासभाको धर्मादेवी नगरपालिका र धनकुटाको पाख्रिबासमा आयोजित शिविरमा १ हजार ६ सय जनाले सेवा लिएका छन्।

अस्पतालका निर्देशक डा. उज्वल चालिसेका अनुसार यसअघि इलाम र पाँचथरमा गरिएको शिविरपछिको यो चरणमा संखुवासभा र धनकुटाका नागरिकलाई सेवा दिइएको हो। उनका अनुसार चारवटै जिल्लामा कूल ४ हजार ६ सयभन्दा बढीले क्यान्सर स्क्रिनिङ सेवा प्राप्त गरिसकेका छन्।

“समुदायमै पुगेर क्यान्सरको जोखिम पहिचान गर्ने र समयमै उपचारको व्यवस्था गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो,” डा. चालिसेले बताए।

संखुवासभाको शिविर धर्मादेवी नगरपालिकाको आयोजना र नेपाल-भारत मैत्री संघ तथा नेपाल अर्बुद रोग निवारण संघको सहकार्यमा सम्पन्न भएको हो। उक्त शिविरमा ६०० महिलाको प्याप स्मेयर र अल्ट्रासाउन्ड स्क्रिनिङ गरिएको थियो। शिविरमा पाँच जना पुराना क्यान्सर बिरामीको फलोअप गरिएको थियो भने क्यान्सर पुष्टि भएकी तीन महिलालाई थप उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल रिफर गरिएको छ।

धनकुटाको पाख्रिवासमा आयोजित शिविरमा पनि ६ जना फलोअपका बिरामी आएका थिए। स्क्रिनिङमा संलग्न चिकित्सक टोलीले पाँच जनामा क्यान्सरको शंकास्पद संकेत देखिएको र उनीहरूलाई थप परीक्षण र उपचारका लागि भक्तपुर अस्पताल आउन सुझाव दिएको डा. चालिसेले जानकारी दिए।

शिविरमा सङ्कलित नमुनाको परीक्षण प्रतिवेदन दुई हप्ताभित्र सम्बन्धित बिरामीलाई उपलब्ध गराइने बताइएको छ।

यस किसिमका सामुदायिक स्वास्थ्य अभियानले दुर्गम भेगका सर्वसाधारणलाई समयमै रोग पत्ता लगाई उपचारमा सहजता ल्याउने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्