भिजिट भिसा प्रकरण: संसदमा बोल्न नपाए पत्रकार सम्मेलन गर्ने तयारीमा गृहमन्त्री लेखक

काठमाडौं, जेठ १४ — भिजिट भिसा प्रकरणमा आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखक संसदमा बोल्न नपाए पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने तयारीमा छन्। गृहमन्त्री सचिवालयका अनुसार उनले पहिलो प्राथमिकताका रूपमा संसदमै आफ्नो भनाइ राख्ने प्रयास गर्ने छन्। तर यदि अवसर नपाएमा संसद भवनको ल्होत्से हलमै पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिने तयारी गरिएको हो।

यस प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै आएका छन्। सत्तारूढ गठबन्धनले भने यो मागलाई सरकार र गठबन्धनमाथिको राजनीतिक आक्रमणको रूपमा व्याख्या गर्दै गृहमन्त्रीलाई बचाउने रणनीति अपनाएको छ।

बालुवाटारमा बुधबार साँझ बसेको उच्चस्तरीय बैठकले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अवस्था नरहेको ठहर गरेको स्रोतले जानकारी दिएको छ।

यसैबीच, प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणको विवाद चुलिँदा संसद सञ्चालन नै प्रभावित बनेको छ। सभामुख देवराज घिमिरेले बिहान ११ बजेका लागि बोलाएको बैठक सो विवादका कारण सुरु हुन सकेको छैन। प्रतिपक्षले गृहमन्त्रीको जवाफ माग गर्दै बैठक अवरुद्ध गरिरहेको छ।

संसदभित्रको गतिरोध र बाहिरी राजनीतिक दबाबका बीच गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोपको जवाफ दिने तयारी गरेसँगै राजनीतिक तापक्रम अझ चुलिने देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्