काठमाडौं, जेठ १४ — प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेदेखि राजतन्त्र र हिन्दूराज्यको मागसहित सुरु हुने राजावादी प्रदर्शनलाई चक्रपथ क्षेत्रभित्र प्रवेश गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सुरक्षा व्रिफिङ बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलपछि यस्तो निर्देशन दिएको स्रोतले जनाएको छ।
बैठकमा सहभागी सुरक्षा अधिकारीहरूका अनुसार, प्रधानमन्त्री ओलीले सम्भावित सुरक्षा चुनौतीको आँकलन गर्दै प्रदर्शन चक्रपथ क्षेत्रबाहिर सीमित राख्न र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका थिए।
यसै दिन नेकपा एमालेले देशभर गणतन्त्र उत्सव मनाउने घोषणा गरिसकेको छ। काठमाडौं उपत्यकालाई एमालेको ‘नियन्त्रणमा’ राख्न अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आन्तरिक पार्टी संयन्त्रलाई समेत निर्देशन दिएको स्रोतको दाबी छ।
यता, राजावादी पक्षले भने सोही दिनदेखि अनिश्चितकालीन आन्दोलन सुरु गर्ने घोषणा गरिसकेका छन्। आन्दोलनका मागमा राजतन्त्र पुनःस्थापना, नेपाललाई हिन्दूराष्ट्र घोषणा लगायतका एजेन्डा रहेका छन्। यद्यपि दुवै पक्षको कार्यक्रम कहाँ आयोजना हुने भन्ने विषय भने अझै टुंगो लाग्न बाँकी रहेको छ।
सुरक्षा निकायका प्रमुखहरूले भने आन्दोलनको प्रकृति, जनसहभागिता र सम्भावित जोखिम मूल्यांकन गरेर मात्र कार्ययोजना बनाइनु उपयुक्त हुने सुझाव दिएको स्रोतको भनाइ छ।
गणतन्त्र दिवसको अवसरमा सत्ता पक्ष र विपक्षी धारका समूहको सशक्त प्रदर्शन हुने पृष्ठभूमिमा काठमाडौं उपत्यकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ। प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाबीच समन्वय गरी सम्भावित अप्रिय घटना रोक्न संयुक्त रणनीति तयार पारिने भएको छ।