काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई घण्टा ढिलो गरी सुरु भए पनि विपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएको छ। निर्धारित समय बिहान ११ बजे भए पनि बैठक दिउँसो १ बजेतिर मात्र सुरु भएको थियो।
बैठकअघि सत्तापक्षका प्रमुख दल नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल भएको थियो। छलफलमा विपक्षीको गृहमन्त्री रमेश लेखकको राजीनामाको माग अस्वीकार गर्ने र गृहमन्त्रीलाई संसद्मा आफ्नो धारणा राख्न दिने निर्णय भएको थियो।
तर, बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले कारबाही प्रारम्भ हुने जानकारी दिएपछि विपक्षी दलका सांसदहरू उठेर विरोधमा उत्रिएका थिए। उनीहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेपछि बैठक अघि नबढी आधा घण्टाका लागि स्थगित गरिएको हो।
यसअघि मंगलबारको बैठकमा पनि विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै अवरोध गरेका थिए। विपक्षीको निरन्तर अवरोधका बीच संसद् गतिरोध कायम छ।