काठमाडौं- भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले संघीय संसद् भवन, नयाँ बानेश्वरमा संयुक्त बैठक गरिरहेका छन्। बुधबार संसद् बैठक सुरु हुनुअघि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बैठक बसेको हो।
माओवादी सांसद माधव सापकोटाका अनुसार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), आम जनता पार्टीलगायत विपक्षी दलका नेताहरू सहभागी छन्। बैठक बिहान १०:५० बजेबाट सुरु भएको हो।
बैठकमा गृहमन्त्री लेखकको राजीनामा, बजेट सत्र सञ्चालन, र संसद् गतिरोध अन्त्यका सम्भावित बाटाहरूबारे छलफल भइरहेको छ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका कार्यवाहक दल नेता विराजभक्त श्रेष्ठ, उपसभापति स्वर्णिम वाग्ले, समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी, आम जनता पार्टीका नेता प्रभु साहलगायत नेताहरू बैठकमा सहभागी छन्।
यद्यपि, गृहमन्त्रीको राजीनामाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा अनुपस्थित रहेको छ। संसद् बैठक ११ बजेका लागि बोलाइएको भए पनि अझै सुरु भइसकेको छैन।